मनोविदलता एक प्रकारको कडा मनोरोग हो जसले विश्वको जनसंख्याको १ प्रतिशत मानिसलाई आक्रान्त पारेको छ। यो रोग पुरुष र महिलामा समान रुपले पाइन्छ। १६ वर्षदेखि ३० वर्ष सम्मका युवाहरु यो रोगबाट बढी प्रभावित हुने गर्छन्। यो लेखमा मनोविदलताका लक्षणहरु कसरी विकसित हुँदै जान्छन् भन्ने जानकारी प्रस्तुत गरिको छ।
सरदर १६-३० वर्षको युवा असामान्य व्यवहार गर्न थाल्छ। उसमा अपरम्परागत बानीहरु/आचरणहरु पहिले देखि नै देखिएका हुन सक्छन् तर तिनलाई सजिलै ठम्याउन नसकिएको हुन सक्छ। उसका जीवनका केही महत्वपूर्ण निर्णयहरु अनौठो हुन्छन्। उदाहरणको लागि कलेज पढ्ने विद्यार्थी अचानक कलेज छोड्न पुग्छ। त्यस्तै कुनै कार्यालयमा काम गर्ने मानिसलाई हाकिम वा अरु साथीहरुले आफुलाई अन्याय गरेजस्तै अथवा अनादर गरेजस्तो वा उसलाई बिनाकारण दु:ख दिएजस्तो वा उसलाई कुनै विशेष कारणले मन नपराएको जस्तो लाग्न थाल्छ जसले गर्दा उसले काम नै छोडिदिन्छ। प्रायजसो यी गडबडीहरु क्रमिक रुपमा देखिन थाल्छन् भने कुनै बेला रफ्तारमा।
केही व्यक्तिमा भ्रम, उत्तेजना र बिना कारणको रिसबाट यो रोगको सुरुवात हुन्छ। यस्तो समयमा त्यो व्यक्ती धेरै मानिसहरुसँग नजिकिन खोज्छ किनभने उसलाई संसार आफूबाट टाढा भैराखेको जस्तो भान हुन थाल्छ। आफुले पाउन नसक्ने कुराको खोजमा ऊ भौतारिन पुग्छ। कुन कुराको खोजीमा उ लागेको छ भन्ने ऊ स्वयमलाई ज्ञात हुन छोड्छ। ऊ जति क्रियाशील बन्न खोज्छ, जति अनुभव बटुल्न खोज्छ त्यति नै उसका भ्रमहरु झाँगिदै जान्छन्। कोही आफ्नो शारीरिक बनौटमा खोट भएको कुरामा तनावग्रस्त हुन्छन् र कोही आफुलाई क्यान्सर वा एड्सबाट पिडित छु भन्ने भ्रमबाट ग्रसित हुन्छ। आफुलाई पहिले मनपर्ने क्रियाकलापबाट ऊ टाढा हुँदै जान्छ। कुनै घटना वा वस्तुले उसको जीवनमा विशेष अर्थ राखेको जस्तो भान हुन थाल्छ। उदाहरणको लागि उसले बाटोमा कसैलाई भेट्यो भने त्यो गुप्तचर हो जस्तो लाग्छ र कुनै घटनाहरु संयोगले नभएर नियोजित छन् जस्तो लाग्न थाल्छ।
उसले सोचेको कुराहरु जब संयोगवश पत्रपत्रिका, इन्टरनेट, टिभी, रेडियो अथवा सिनेमाहरुमा आउँछन्, उसका लागि ति संयोग मात्र नभएर शंकाको विषय बन्न पुग्छ| त्यसरी, उसको शंका बढ्दै जान्छ| उसले खिल्ली उदाएजस्तो अनि उसको पछाडी कुरा काटेको जस्तो महशुस हुन थाल्छ| उसलाई आफु बाहिरी शक्तीहरुको (तत्वहरुको) नियन्त्रणमा भएजस्तो लाग्न थाल्छ| उसका सोचाइ र व्यवहारहरु ति बाहिरी तत्वहरुको प्रभावले भएका हुन् र तिनमा आफ्नो नियन्त्रण छैन जस्तो लाग्न गर्छ| यी प्रभावहरुलाई प्रष्ट पार्न उसले विभिन्न कारणहरु दिने गर्छ, जस्तै दिमागमा कसैले कम्पुटर राखिदिएको, घरमा जासुसी उपकरण राखिएको, उसका बिचारहरु रेकर्ड गर्ने यन्त्र राखिएको वा खानामा विष मिसाएको, वा कसैले टुनामुना लगाएको आदि| यिनलाई मतिभ्रम भनिन्छ| यस्तो भ्रमित अवस्थामा उसलाई लाग्छ कि मानिसहरु वा बाहिरि तत्वहरु उसको ज्यानको पछी लागेका छन्| उसलाई यो पनि लाग्न थाल्छ कि कोही छ जसले उसका बिचार र कर्ममाथी नियन्त्रण गर्दैछ| समय बित्दै जाँदा उसलाई आफुले विभिन्न स्रोतबाट विभिन्न किसिमका गोप्य संकेतहरु प्राप्त भएको आभास हुन थाल्छ| ऊ आफुलाई राजा भएको, विशेष योजनामा खटिएको वा इश्वर भएको ठान्न थाल्दछ| ब्रह्माण्ड र जीवनको सबै रहस्यहरु आफुलाई ज्ञान भएको महशुस गर्न थाल्छ| उसलाई मौसम, जलवायु, सुर्य-चन्द्रको स्थिति पनि नियन्त्रण गर्न सक्छु जस्तो लाग्ने गर्छ|
उसलाई आफ्नो वातावरण अनौठो लाग्न थाल्छ र विभिन्न वस्तु र मानिसहरुसँगको पहिलेको सम्बन्धमा परिवर्तन भएजस्तो लाग्छ| वरपरका मानिसहरुको आकृति बदलिएको जस्तो, बनोट पनि भिन्न भएजस्तो लाग्छ| त्यसैगरी उसलाई जीवनको गती कहिले छिटो वा कहिले ढिलो भएजस्तो पनि अनुभव हुन्छ| हुँदाहुँदै उसलाई यस्तो पनि लाग्न थाल्दछ की कतै नबोली, नलेखी आफ्ना मनका बिचारहरु नजिक वा टाढा बसेको मानिसहरुले वा पशुपंक्षीले थाहा पाइरहेका छन्| त्यतिमात्र होइन, उसले अरुले नसुन्ने तर आफुले मात्रै विभिन्न प्रकारका आवाजहरु सुन्ने गर्छ, जस्तै संगीतको धुन, पशुपंक्षीका आवाज वा मानिसहरुको स्वर|
मुख्यतया उसले मान्छेहरुले उसको बारेमा राम्रा नराम्रा कुरा गरेको, यसो गर उसो गर भनी आदेश दिएको वा अब यसलाई डाम्नु पर्छ, पिट्नुपर्छ, मार्नुपर्छ भनेको आवाजहरु सुन्ने गर्छ| तर ती आवाजहरुको स्रोत भेट्टाउन नसकेपछी उ अत्यन्त भयभित हुने गर्छ| कहिलेकाहीँ त आवाजमात्र सुन्ने होइन उसले विभिन्न दृश्यहरु पनि देख्छ जुन सामान्य मानिसहरुले देख्न सक्दैनन्| यस्तो अवस्थामा उसको व्यवहार र मिजासमा पनि परिवर्तन देखा पर्छ, जस्तै डराएर कोठामा लुक्नु, बिनाकारण रुनु, हाँस्नु वा बिनाकारण रिसाउनु तथा कसैमाथी जाइलाग्नु आदि|

प्रायजसो मनोविदलता भएका व्यक्तिहरुमा माथी उल्लेख गरिएका परिवर्तनहरु बिस्तारै हुने गर्छन् जसले गर्दा उनीहरुसँगै समय बिताउने व्यक्तिहरुलाई यी परिवर्तनहरुको बारेमा त्यति आभाष नहुन पनि सक्छ| तर, जो उनीहरुलाई केही समयपछी भेटेका हुन्छन् वा पहिलोपटक भेटेका हुन्छन्, तिनले त्यस्ता व्यक्तिहरुको बदलिएको वा अनौठो व्यवहार थाहा पाउने हुन्छन्|
मनोविदलतामा माथी उल्लेख गरिएका लक्षण बाहेक अरुपनि धेरै प्रकारका लक्षणहरु हुन्छन्| यो लेखको उद्देश्य सामान्य लक्षणहरु चिनेर, त्यस्ता लक्षण भएका व्यक्तिहरुलाई उपचार प्रक्रियामा सहभागी गराउनका लागि हो| हालसम्म यस रोगको ठोस कारण नाभेटिएकोले यसको सम्पूर्ण उपचार भन्दा लक्षण न्यूनीकरण नै हालको उपचार प्रणाली हो| मनोविदलाताको उपचारमा औषधोपचार र मनोसामाजिक परामर्श विधि पनि छिट्टै प्रयोगमा आउनेछ|
____________________________________________________________________
Author
Dr. Kanchan Dahal
Consultant Psychiatrist
Ministry of Health, Madives
(Special interest in Psychoanalysis of patients with Schizophrenia)
E-mail: [email protected]
